काभ्रेमा आफ्नो जग्गा निरीक्षण गर्न परिवारसहितै पुगे पूर्वराजा शाह


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ मार्से पुगेका छन् । ज्ञानेन्द्रको साथमा पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह, हिमानीको छोरीलगायत पूर्वराजपरिवारका अन्य सदस्य सहभागी छन् ।

शाह परिवार मार्सेमा रहेकोआफ्नो ४२ रोपनी जग्गा निरीक्षण गर्न गएको बताइएको छ। १० दिनदेखि पूर्वराजा शाह श्रीमतीसहित नगरकोटमा बस्दै आएका छन् । नगरकोटमा आफ्नो स्वामित्वमा रहेको सोल्टी रिसोर्टमा उनी बस्दै आएका छन् । पूर्वराजाले तीन दिनअघि मात्र आफ्नो वैवाहिक वर्षगाँठ नगरकोटको रिसोर्टमै मनाएका थिए ।

पूर्वराजाले सोही रिसोर्टमा राजावादी नेता तथा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई दुई दुईपटक भेट्न बोलाएर राजसंस्था र हिन्दु राष्ट्रका लागि जनआन्दोलन घोषणा गर्न मिटिङ गरेका थिए । सोहीअनुसा राजावादी समूहले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।