भारत र पाकिस्तान तनावले नेपालमा इन्धन संकटको डर, के भन्छ आईओसी ?


काठमाडौँ । भारत र पातिस्तानबीच बढ्दो तनावले नेपालमा इन्धनको हाहाकार हुने अनुमान गर्न थालिएको छ । नेपालमा ८५ प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ भारतबाटै आपूर्ति हुने गरेको छ ।

पाकिस्तानले भारतका सीमा नजिक मिसाइल र ड्रोन आक्रमण गरेकाले पाइपलाइनदेखि ढुवानीसम्ममा अवरोध हुनसक्ने र त्यसपछि नेपालमा इन्धनको संकट आउने हो कि भन्ने चर्चा चलेको हो ।

तर नेपाल आयल निगमलाई इन्धन दिँदै आएको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले इन्धन संकट नहुने प्रस्ट पारेको छ । आइओसीले शुक्रबार वक्तव्य जारी गर्दै देशभरि इन्धनको पर्याप्त मौज्दात रहेको जनाएको छ । उसले जनतालाई आत्तिनुपर्ने कुनै आवश्यकता नरहेको बताएको हो ।

इन्डियन आयलको आधिकारिक एक्स एकाउन्टबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘इन्डियन आयलसँग देशभर पर्याप्त इन्धनको मौज्दात छ र हाम्रो आपूर्ति प्रणाली सामान्य रूपमा सुचारु छ। डराएर किनमेल गर्न आवश्यक छैन, हाम्रा सबै आउट लेटहरूमा पेट्रोल, डिजेल र एलपीजी सजिलै उपलब्ध छन्।’

बीबीसीका अनुसार भारत र पाकिस्तानबीच तनाव चुलिएपछि पेट्रोल पम्पहरूमा नागरिकको भिड लाग्न थालेपछि आइओसीले उपभोक्तालाई नआत्तिन आग्रह गर्नुपरेको हो । अहिलेको अवस्थालाई हेर्दा भारत र पाकिस्तानबीच तत्काल तनाव कम हुने सम्भावना देखिएको छैन । अन्तर्राष्ट्रिय समुदायको आग्रह र दबाबका बीच पनि दुवै देश तनाव कम गर्न सहमत भएका छैनन् ।