रवि थुनामै बसेपछि डीपी अर्याल नै संसदीय दलको नेता बन्ने


काठमाडौं । सभापति रवि लामिछाने अझै केही समयसम्म हिरासतमै बस्ने देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा संसदीय दलको नेताको खोजी भएको छ । सहकारी ठगीमा उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले सदर गरेपछि रास्वपामा जिम्मेवारी बाँडफाँटको बहस सुरु भएको हो ।

लामिछानेको सांसद पद निलम्बन भएसँगै गत पुस ८ गतेदेखि संसदीय दल नेताविहीन छ । बीचमा रास्वपाले एकपटक छलफल चलाएको थियो । संसदीय दलको नेताको जिम्मेवारी कसले लिने भनी आकांक्षीको सर्भेसमेत भएको थियो । त्यसक्रममा उपनेताको जिम्मेवारीमा रहेका विराजभक्त श्रेष्ठ, उपसभापति स्वर्णिम वाग्ले, डा.चन्दा कार्की, सुमना श्रेष्ठसहितका आकांक्षी देखिएका थिए ।

विराजभक्तले आफू उपनेताको भूमिकामै रहेकाले नेता नभएर रिक्त पदपूर्ति हुँदा आफू स्वाभाविक दाबेदार हुने बताएको बुझिएको छ । सांसद कार्कीले आफू सिनियर भएकाले नेतृत्व गर्दा स्वाभाविक हुने भनेर दाबी प्रस्तुत गरेकी थिइन् । सांसद सुमना श्रेष्ठले आफू संसदमा सबैभन्दा सक्रिय रहेकाले दलको नेता दाबी गरेको बताइन्छ।

उपसभापति वाग्लेले पार्टीको कार्यवाहक सभापतिमा डीपी अर्याललाई स्वीकार्न आफूलाई समस्या नरहेको भन्दै उनकै नेतृत्वमा जिम्मेवारी बाँडफाँटको प्रस्ताव राखिसकेका छन् । उनले पार्टी अझ सशक्त हुनु आवश्यक भएकाले जिम्मेवारी र वरिष्ठता विवादमा फस्न नहुने भनी बैठकमै धारणा राखेको बुझिएको छ । तर, रास्वपा स्थापनाकालका केन्द्रीय सदस्य र पदाधिकारीहरू लामिछानेपछिको नेतृत्व डीपी अर्यालले नै गर्नुपर्ने पक्षमा देखिएका छन् ।