सात दिनभित्र कार्यपालिका बैठक बोलाउन भन्दै बालेनलाई उपमेयर र वडाध्यक्षहरूले दिए पत्र


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यहरूले बैठक बोलाउन मेयर बालेन्द्र साह बालेनलाई एक साताको अल्टिमेटम दिएका छन् । कार्यपालिका ३९ जना सदस्यले बालेनलाई सोमबार पत्र बुझाउँदै तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।

४० सदस्य रहेको कार्यपालिकामा मेयरबाहेक सबैको उपस्थिति थियो । कार्यपालिकामा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एकपटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि पुसयता बालेनले बैठक राखेका छैनन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरले ६ महिनादेखि बैठक बस्न नसकेकाले तत्काल बैठक बोलाउन दबाबस्वरुप पत्र दिएको बताए । कार्यपालिका बैठक बस्न नसक्दा

महानगरपालिकाभित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायत अलपत्र परेका छन् । स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । कार्यपालिका बैठक बोलाउन नसकेका बालेनले सामाजिक सञ्जालमार्फत बजेटको फिडब्याक मागेका छन् । उनले जेठ १५ गतेसम्म फिडब्याक दिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा देखिने बालेन कार्यपालिका बैठक बोलाउन डराइरहेका छन् ।

प्रमुखको काम, कर्तव्य र अधिकारमा पनि सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने उल्लेख छ । उनले स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान रहेको मानन्धरले बताए ।