रवि पत्नी निकिता पौडेल भन्छिन्– त्रास अझै बाँकी छ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले त्रास अझै बाँकी रहेको बताएकी छन् । सर्वोच्च अदालतले शुक्रबार रविबारे उच्च अदालत बुटवल इजलासको आदेश सदर गर्दै रविलाई थुनामुक्त गर्न अस्वीकार गरेको आदेश सुनाएको चार दिनपछि निकिताले आफ्नो मुख खोलेकी हुन् ।

निकिताले अदालतले समेत आफूलाई अन्याय गरेको भन्दै अब न्यायका लागि कहाँ जाउँ भनेर प्रश्नसमेत गरेकी छन् । कुनै दोष नहुँदा नहुँदै पनि आफ्नो श्रीमान् रविलाई सहकारीमा फसाइएको र अझै प्रतिशोध साँध्न र षड्यन्त्रका तानाबाना बुन्ने खेल भइरहेको भन्दै उनले त्रास अझै बाँकी रहेको उल्लेख गरेकी छन् ।

निकिताले शुक्रबारका दिन इजलासमा सुनुवाइ सकिएपछि के कस्ता गतिविधि भए भनेर लामो स्टाटस नै लेखेकी छन् । उनले अदालत प्रशासन नै षड्यन्त्रमा लागेको आशंका गरेकी छन् ।

निकिताले भनेकी छन्, ‘जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन। न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें। बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो।

हाम्रो तर्फबाट बहस राम्रो भयो। बेञ्चका हरेक प्रश्नको कानून व्यवसायीको तथ्यपूर्ण जवाफ। बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानें। न्यायप्रतिको विश्वास झनै बढ्यो। करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे। केहीपछि सह–रजिष्ट्रार ९प्रवक्ता०को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो। ‘एकैछिन है’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन्। आदेश ल्याएर सुनाउनुपर्ने मान्छे नै हराए।’

निकिताले रविलाई थुनामुक्त गर्ने आदेश आफूले बाहिरबाटै थाहा पाउनु परेकोमा आक्रोश व्यक्त गरेकी छन् । ‘श्रीमान त निस्किनु भयो भनेर एकजना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन प्रवक्ता। बाहिर निस्किदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार। अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन,’ उनले भनेकी छन् ।

बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायालयले एक शब्द नबोलेको भन्दै उनले गुनासो पोखेकी छन् । ‘केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ,’ उनले भनेकी छन् ।