राजेन्द्र बजगाईले शशांकलाई किन दिएका थिए कार र रोलेक्स घडी घुस ?


काठमाडौं । कांग्रेस सांसद राजेन्द्र बजगाइँले नेता शशांक कोइरालालाई दिएको घुस विवरण सार्वजनिक गरेसँगै राजनीतिमा सनसनी मच्चिएको छ । पर्यटन व्यवसायी र होटल सञ्चालकसमेत रहेका बजगाइँले राजनीतिक पद खरिद गर्न कोइरालालाई एउटा कियाको र अर्को महिन्द्राको एसयूभी गाडी, एउटा सुनको रोलेक्स घडी, घर रेनोभेसनका लागि पैसाले भरिएको दुई झोला व्याग उपहार दिएको बताएका हुन् ।

आफूले उपहार भन्दै दिएको घुसको विषयमा पनि शशांकलाई स्पष्टीकरण सोध्नुपर्ने बजगाईले बताएका छन् । गृहमन्त्री रमेश लेखकको राजीनमा माग्ने कांग्रेस नेताहरुलाई स्पष्टीकरण सोध्नुपर्ने भन्दै शशांकले प्रतिक्रिया दिएपछि बजगाईले भ्रष्टाचार प्रकरण सार्वजनिक गर्दै उल्टै उनलाई नै प्रष्टीकरण सोध्नुपर्ने बताएका हुन् ।

सांसद बजगाई लेख्छन्, ‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धार वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ ।’ बजगाईले पैसाकै बलमा गोरखा १ बाट कांग्रेस टिकट हात पारेका थिए । उनी कोइराला समूहका सांसद हुन् । विगतमा शशांकसँग सम्बन्ध राम्रो भए पनि अहिले राम्रो नरहेको बजगाईले लेखेको स्टाटसले पुष्टि गर्छ । बजगाई शेखरलाई सभापति बनाउनुपर्छ भनेर हिँडेका छन् ।