गृहमन्त्री राजीनामा दिन्छु भन्ने, ओली र देउवा नदेऊ भन्ने


काठमाडौं – भिजिट भिसा प्रकरणमा अध्यागमन विभाग प्रमुख तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा परेपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको दबाब बढ्दो छ । प्रमुख प्रतिपक्षी माओवादी, रास्वपा, राप्रपासहितले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेपछि लेखक अप्ठेरोमा परेका छन् । सामाजिक सञ्जालदेखि उनका समर्थक र शुभचिन्तकले पनि राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न भनिरहेका छन् ।

आफ्नै कारण जेठ १५ मा आउनुपर्ने बजेट रोकिने परिस्थिति भएपछि लेखकले मार्गप्रशस्त गर्ने निधो गरे पनि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले नदिन दबाब दिएका छन् । विपक्षी सांसदले आफ्ना कुरा राख्न सदनमा नदिँदा तनावमा परेका गृहमन्त्री लेखकले पत्रकार सम्मेनलमार्फत आफमाथि लागेका आरोपको जवाफ दिने भएका छन्। बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर लेखकले आफ्ना कुरा ाख्ने भएका हुन् ।

कांग्रेसका एक सांसदले भने विपक्षीले अवरोध नछाडे आफ्नो कुरा राख्ने बताए। ‘विपक्षीको अवरोध जारी रहे उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्नुहुन्छ, नत्र संसद्‍मै जवाफ दिनुहुन्छ,’ ती नेताले भने । बुधबार पार्टी सभापति देउवालाई लिएर लेखक बालुवाटार पुगेका थिए । उनले आफूले राजीनामा दिने मनस्थिति बनाएको ओली र देउवासमक्ष राखेका थिए । तर ओलीले तत्कालै भने, ‘तपाईले राजीनामा दिनु हुँदैन । सरकारमाथि घेराबन्दी पारिएकाले विपक्षीसँग भिडेर जानुपर्छ ।’ त्यसपछि लेखकले राजीनामा दिने मुड परिवर्तन गरेका हुन् । तर पनि उनले जुनसुकै बेला राजीनामा दिन सक्ने नेताहरुको भनाइ छ ।