यात्रुको सहजताका लागि नेपाल प्रहरीले दिन थाल्यो निःशुल्क बस सेवा, साझा पनि गुड्दै


काठमाडौैं – गण्डकी प्रदेश सरकारले पारित गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सोमबारदेखि देशभर सार्वजनिक यातायातका साधन ठप्प भएपछि सर्वसाधारणले असाध्यै दुःख–कष्ट बेहोरेका छन् । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन्।

सोमबार बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन बन्द छन् । जसले गर्दा अत्यावश्यक कामका लागि गन्तव्यमा पुग्न सर्वसाधारणलाई कठिनाइ भएको छ । त्यसमाथि विभिन्न राइडर सेयरिङ कम्पनीले दोब्बरभन्दा बढी भाडा असुल्न थालेपछि गरिब तथा विपन्न जनताको बेहाल भएको छ ।

यो अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न रुटमा प्रहरीले निःशुल्क बस सञ्चालन गरेको हो । दुईवटा बस दुईवटा छुट्टाछुट्टै रुटमा चल्नेछन्।

यसबाट थोरै भए पनि जनतालाई राहत पुगेको छ । प्रहरीले रुट नै तोकेर बस सञ्चालन गरेको छ । भक्तपुरको सूर्यविनायक, सल्लाघारी, ठिमी हुँदै प्रहरीका बस गुड्नेछन् । त्यस्तै, ललितपुरको सातदोबाटो, लखनखेल हुँदै जावलाखेल, थापाथली भएर काठमाडौंका विभिन्न रुटमा बस चल्नेछ । प्रहरीले हवाई यात्रुका लागि मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पनि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । काठमाडौंका भित्री रुट जति सबैमा प्रहरीका बस गुड्नेछन् ।

साझा यातायातले पनि सोमबार आफ्नो सेवा निरन्तर रहेको जनाएको छ । साझा यातायातले लगनखेलदेखि नयाँ बसपार्कसम्म सेवा दिइरहेको छ । त्यस्तै, काठमाडौंका विभिन्न रुटमा पनि साझा यातायात चलिरहेका छन् ।