काठमाडौं – प्रतिनिधिसभामा जेठ २० गतेदेखि आर्थिक वर्ष ०८२/८३ को बजेटमाथि छलफल सुरु हुने भएको छ । माओवादी, रास्ववा, राप्रपा, एकीकृत समाजवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने अडान राखेपछि सभामुख देवराज घिमिरेले जेठ २० गते बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
बुधबारदेखि संसदमा बजेटमाथि छलफल हुने भएपछि मंगलबार प्रमुख दलका बैठक बसेका छन् । कांग्रेसको पदाधिकारी बैठक, एमाले, माओवादी र रास्वपाको संसदीय दलको बैठक बसिरहेको छ । माओवादी रास्वपाले बुधबारको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा औपचारिक निर्णय लिने भएका छन् ।
गृहमन्त्री लेखकको राजीनामालाई रास्वपाले प्रतिष्ठाको विषय बनाएको छ । रास्वपालाई माओवादीको बलियो समर्थन छ । हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिए । सहकारी ठगी प्रकरणमा रवि अहिले भैरहवा कारागारमा छन् । प्रचण्डले रविलाई निर्दोष भन्दै आएका छन् । त्यसले गर्दा पनि अहिले प्रचण्डले गृहमन्त्री लेखकको राजीनामालाई बलियो मुद्दा बनाएको छ । रास्वपा जस्तै माओवादी अध्यक्ष प्रचण्ड पनि संसदको अवरोध खुलाउने पक्षमा नरहेको प्रधानमन्त्री केपी ओलीले रहस्य खोलेका छन् ।
ओलीले अवरुद्ध संसद् सञ्चालनबारे आफूले प्रतिपक्षी दलका नेता प्रचण्डसँग कुरा गर्न खोजे पनि सम्पर्क हुन नसकेको बताएका छन्। सोमबार एमाले संसदीय दलको बैठकमा उनले प्रचण्ड सम्पर्कमा आउन नचाहेको बताएका हुन्। ‘संसदको गतिरोधबारे छलफल गरौं भन्दा प्रचण्डजीसँग कुरा गर्न खोज्या। उहाँ सम्पर्कमा आउनु चाहिरहनुभएको छैन। उहाँलाई सबै कुरा थाहा छ। उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन। उहाँहरू कुरा नगर्ने। बन्द गर्ने मोडमा हुनुहुन्छ होला । यस्ता नचाहिने कुरामा संसदको कारवाही रोकेर देशको विकासको गतिलाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिलाई असफल बनाउने काम नगर्नुहोस्। यस्तो व्यवहार सधैं्र चल्दैन,’ ओलीले भने, ‘‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीयज्यूहरू तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’
कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले पनि गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने निर्णय गरेको छ । गृहमन्त्रीविरुद्ध कतै पनि उजुरी र मुद्दा नपरेकाले उनले राजीनामा दिनुनपर्ने कांग्रेसको निष्कर्ष छ ।
प्रतिक्रिया