भिजिट भिसा प्रकरणः माओवादीको गृहमन्त्री राजीनामाको माग यथावत, ओलीको संसद् खोल्न आग्रह


काठमाडौं — सिंहदरबारमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग दोहोर्याएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेका अनुसार, भिजिट भिसा प्रकरणमा अनुसन्धान अघि बढाउन गृहमन्त्रीको राजीनामा अनिवार्य रहेको माओवादीको अडान कायमै छ।

पाण्डेले भने, “हामीले सदनमा उठाएका विषयहरू नै बैठकमा पनि राख्यौं। सुशासनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो। भिजिट भिसामा देखिएको गडबडीलाई समाधान गर्न र अनुसन्धानको बाटो खुला गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग यथावत् छ।”

संसद् बैठकमा माओवादी केन्द्रले निरन्तर अवरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरिरहेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने संसद् अवरुद्ध नगरी काम अगाडि बढाउनुपर्ने आग्रह राखेको पाण्डेले जानकारी दिए।

“प्रधानमन्त्रीज्यूले अब राजीनामामा अडिनु हुँदैन, संसद् सञ्चालनमा ल्याएर प्रक्रिया अघि बढाउनुपर्छ भन्ने कुरा राख्नुभयो। तर, हाम्रो पक्षबाट भने सुशासनकै विषय सबैभन्दा महत्त्वपूर्ण हो भन्ने अडान छ,” पाण्डेले बैठकपछि भने।

उनका अनुसार प्रधानमन्त्री तथा सत्ता पक्षका नेताहरूले यो कर्मचारीको विषय भएकाले गृहमन्त्रीले राजीनामा दिनु आवश्यक छैन भन्ने धारणा राखेका छन्।