रवि लामिछाने काठमाडौं आउँदै, रास्वपाका समर्थक उत्साहित


काठमाडौं – बुटवलस्थित सुप्रिम सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरुवा भएर डिल्लीबजार कारागार आउने भएका छन् ।

रविले रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको छ । सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि रविले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए । अदालतले समेत उनले सरुवाका लागि इच्छा देखाए सहजीकरण गरिदिन भनेको थियो ।

आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दी हुन्छ । यद्यपि सुरक्षा चुनौतीलगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ । कारागार प्रशासनले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै कैदीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने गर्छ । काठमाडौंमा नख्खु, केन्द्रीय कारागार कार्यालय जैसीदेवल र डिल्लीबजार कारागार प्रमुख छन् ।
पार्टीका नेताहरु र परिवारसँग भेटघाटका लागि समेत अफ्ठ्यारो हुने भएपछि रविले काठमाडौं आउने इच्छा राखेका हुन् ।

रविलाई भेट्न हरेक साता पत्नी निकिता पौडेल हवाईमार्गबाट भैरहवा पुग्ने गरेकी छन् । रविलाई भेट्न जान मात्रै धेरै खर्च लाग्ने भएपछि काठमाडौंमै सरुवा हुन चाहेको स्रोतले बतायो । रास्वपाका केन्द्रीय नेताहरू सबै काठमाडौंमै हुने र पार्टीले लिने निर्णय सोध्न भैरहवा पुग्नुपर्ने बाध्यता थियो । यदि रवि डिल्लीबजार कारागारमा भए परामर्श गर्न र दैनिक भेटघाट सहज हुने रास्वपाका नेताहरुले अपेक्षा गरेका छन् । सम्भवतः एक साताभित्रै रवि काठमाडौं आउने भएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सरुवा भएर आउने भएपछि बस्ने व्यवस्थाका लागि तयारी थालिएको छ । लामिछानेलाई पनि दीपक मनांगे रहेको ‘ख’ ब्लकमा राख्ने गरी तयारी गरिएको स्रोत बताउँछ । यसअघि त्यहाँ खुमबहादुर खड्का, बालकृष्ण ढुंगेल र गणेश लामा पनि बसेका थिए।

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले काठमाडौंमा ल्याउनेबारे निर्णय भइसकेको बताए । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई गत २२ चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।