महामन्त्री गगन थापा टसमस नभएपछि पूर्णबहादुरले दुई दिन सारे कांग्रेस बैठक


काठमाडौं । महाधिवेशनमा सहमति नजुटेपछि नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।

यसअघि शुक्रबारको बैठक स्थगित भएको थियो । बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा संस्थापन र इतर पक्षबीच सहमति नजुटेपछि आजको बैठक स्थगित गरिएको हो ।

संस्थापन पक्षका कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह र विजयकुमार गच्छदारले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई १५औं महाधिवेशनको कार्यतालिका ल्याउन नदिन दबाब दिइरहेका छन् । सोही कारण खड्काले अनुमति नदिएका बैठक स्थगित हुँदै आएको छ ।

संस्थापन पक्ष चुनावअघि महाधिवेशन गर्न नदिने पक्षमा छ । महामन्त्री थापा र शर्मा जुनसुकै हालतमा पुससम्म नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेर भए पनि नयाँ नेतृत्व चयन गर्ने अडानमा छ । यस विषयमा महामन्त्रीद्वय थापा र शर्माले कार्यवाहक सभापति खड्कासँग पटकपटक छलफल गरे पनि निष्कर्ष निस्केको छैन ।