काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमाले प्रवेश गर्न तयार भएका छन् । माधवकुमार नेपाल समूहले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि खनाल एमाले प्रवेश गर्न तयार भएका हुन् । तर एमालेसँग पार्टी एकता गर्न खनालले चार सर्त अघि सारेका छन्।
नेता खनालले निश्चित मापदण्ड पूरा भए एमालेसँग पुनः एकता वा सहकार्य हुन सक्ने बताएका छन्। ‘पार्टीप्रति माया–ममता अझै पनि छ,’ उनले भने, ‘तर पार्टीभित्र वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा देखिएका गलत प्रवृत्तिहरू सच्याइनुपर्छ। यदि ती गल्तीहरू सुधारिन्छन् र एकताबद्ध भएर अघि बढ्ने इच्छा देखाइन्छ भने, वार्ताको ढोका खुला छ।’ खनालका अनुसार एमालेसँग एकता सम्भव हुनका लागि चार आधारभूत सर्तहरू छन्, जसमा पहिलो, मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्नु हो ।
त्यस्तै पुँजीवादी जनवादी क्रान्ति पूरा भइसकेको स्वीकार गर्दै समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाउनुपर्ने , नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रमलाई मान्यता दिनुपर्ने र समाजवादी कार्यक्रम हासिल गर्न आवश्यक सही वैचारिक–राजनीतिक कार्यदिशा अवलम्बन गर्दै देशी–विदेशी प्रतिक्रियावादविरुद्ध संघर्ष गर्ने संकल्प गर्नु। ‘यी चार विषयमा सहमति बनेपछि हामी वार्ता तुरुन्त सुरु गर्न सक्छौँ,’खनालले भने। खनालसँगै रामकुमारी झाँक्री, किसन श्रेष्ठ एमाले जाने अन्तिम तयारीमा जुटेका छन् ।














प्रतिक्रिया