चलचित्र ‘स्टेशन’को शुभमुहूर्त सम्पन्न


काठमाडौं – चलचित्र ‘बोक्सीको घर’मार्फत बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रूपमा सुरु गरेकी छिन्।

सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको हो। मुहूर्त कार्यक्रममा निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो।

नयाँ वर्षको अवसरमा चलचित्र निर्माणको घोषणा गरिएको ‘स्टेशन’को ‘थिम पोस्टर’ले दर्शकमाझ उत्सुकता बढाएको छ। पोस्टरमा पुरानो काठको दराजभित्र राखिएका रहस्यमय सामग्रीहरू देखाइएका छन्, जसले चलचित्र सामाजिक ड्रामामा आधारित हुने संकेत गर्दछ।

‘बोक्सीको घर’पछि केकीले सोही टिमसँगको सहकार्यलाई यस चलचित्रमा पनि निरन्तरता दिएकी हुन्।

केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् भने कथा पनि उनकै रहेको छ। चलचित्रका निर्माता बद्री अधिकारी हुन्।

यद्यपि, चलचित्रमा अभिनय गर्ने कलाकारहरूको नाम हालसम्म सार्वजनिक गरिएको छैन। मुख्य भूमिकामा को-को रहनेछन् भन्ने विषय गोप्य राख्दै निर्माण टिमले दर्शकमाझ उत्सुकता कायम राखेको छ। साथै, केकी अधिकारी स्वयं पर्दामा देखिनेछिन् वा निर्मात्रीको भूमिकामा मात्र रहनेछिन् भन्ने कुरा पनि स्पष्ट भइसकेको छैन।

आगामी तेस्रो सातादेखि छायांकन सुरु गर्ने तयारी रहेको ‘स्टेशन’ भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

‘बोक्सीको घर’ जस्तो सामाजिक र गम्भीर विषयवस्तुमा आधारित चलचित्रले दर्शकको साथ पाएको सन्दर्भमा ‘स्टेशन’प्रति पनि अपेक्षा उच्च देखिएको छ।