आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म “लालीबजार”को तेस्रो गीत ‘मै राम्री छु त नी’को छोटो अंश सार्वजनिक गरिएको छ। निर्माण कम्पनी षट्कोण आर्ट्सको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा दीपिका बयम्बू मगर को स्वर सुन्न सकिन्छ भने कोरसमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको सहभागिता रहेको छ। गीतमा प्रकाश सपूत को शब्द तथा संगीत रहेको छ।
सार्वजनिक भिडियोमा स्वस्तिमा खड्का केन्द्रमा देखिएकी छन् भने रवीन्द्र सिंह बानियाँ लगायतका कलाकार फिचर्ड छन्। गीतलाई प्रदीप लामा ले कोरियोग्राफी गरेका हुन्। नारी सुन्दरताको प्रस्तुति गरिएको उक्त गीत अहिले टिकटक, फेसबुक रील्स र युट्युब शट्समा ट्रेन्डमा छ।
गीतको पूर्ण संस्करण भने फिल्म रिलिजसँगै थियटरमै हेर्न पाइने निर्माण पक्षले जनाएको छ। यसअघि सार्वजनिक ट्रेलरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ र युट्युब ट्रेन्डिङमा स्थान बनाउन सफल भएको छ।
फिल्म आमा–छोरीको सम्बन्धमा आधारित रहेको छ, जसमा बादी समुदायमा प्रचलित ‘नाथिया’ जस्तो कुप्रथालाई उठाइएको छ। छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्षलाई कथाको मुख्य आधार बनाइएको छ, जहाँ स्वस्तिमा खड्का आमाको भूमिकामा देखिएकी छन्।
फिल्मको निर्देशन यम थापा ले गरेका हुन् भने यसअघि प्रदीप भट्टराई ले निर्माण गरेका ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्महरू दर्शकमाझ लोकप्रिय छन्।
बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ। साथै, विशाल देवकोटा र प्रसंशा सुवेदीले यसै फिल्मबाट डेब्यु गरेका छन्।














प्रतिक्रिया