लालीबजार’ विवाद : बादी समुदायको समर्थन, अदालतद्वारा प्रदर्शनमा रोक


काठमाडौं – चलचित्र ‘लालीबजार’ सम्बन्धी विवादबीच बादी समुदायका प्रतिनिधिहरूले फिल्मप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले फिल्ममा आफ्नो समुदायको भावनामा ठेस पुग्ने वा अपमान हुने कुनै विषय नरहेको बताएका छन्।

षट्कोण आर्ट्सले निर्माण गरेको ‘लालीबजार’ ले बादी समुदायको यथार्थ कथा प्रस्तुत गरेको भन्दै समुदायका अगुवाहरूले प्रशंसा गरेका हुन्। संयुक्त पत्रकार सम्मेलनमा बोल्दै देवीसरा बादीले फिल्म आमा र छोरीको कथामा आधारित भएकाले समुदायलाई सम्मानपूर्वक प्रस्तुत गरिएको बताइन्।

उनले भनिन्, “हामीले फिल्म हेरिसकेका छौँ। केही शब्दमा हाम्रो आपत्ति थियो, त्यो निर्माण पक्षले हटाइसकेको छ। अब फिल्ममा हाम्रो समुदायको भावनामा ठेस पुग्ने कुनै कुरा छैन। बरु यसले हाम्रो संघर्ष र विद्रोहको कथा देखाएको छ र अधिकारका लागि लड्न प्रेरणा दिएको छ।

बादी समुदायका अभियन्ता हिक्मत बादीले पनि फिल्ममा कुनै आपत्तिजनक आशय नरहेको स्पष्ट पार्दै, आपत्तिजनक शब्द हटाइएपछि फिल्म रोक्नु पर्ने कारण नरहेको बताए। उनका अनुसार फिल्मले शोषणविरुद्धको आवाजलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

रमा बादीले लुकेका पीडा र संघर्षलाई बाहिर ल्याउनु आवश्यक रहेको उल्लेख गर्दै ‘लालीबजार’ त्यही प्रयास भएको बताइन्। उनका अनुसार फिल्मले आमाको संघर्षमार्फत सम्पूर्ण महिलालाई अन्यायविरुद्ध उभिन प्रेरित गर्छ।

पत्रकार सम्मेलनमा सहभागी पदम राना बादी, रमेश गन्दर्भ बादी लगायतले पनि फिल्म हेरेपछि समुदायलाई आपत्ति हुने कुनै दृश्य वा संवाद नरहेको बताएका थिए।

यसअघि नै केन्द्रीय चलचित्र जाँच समितिले सुझावका आधारमा ‘लालीबजार’ लाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरिसकेको छ, जसले सबै दर्शकले हेर्न मिल्ने सुनिश्चितता दिएको छ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदयकुमार इङ्नामद्वारा जारी विज्ञप्तिमा फिल्म केवल मनोरञ्जन मात्र नभई विचार र अभिव्यक्तिको सशक्त माध्यम भएको उल्लेख गरिएको छ। प्रदर्शनको अन्तिम तयारीमा रहेका बेला अवरोध आउनुले समग्र फिल्म उद्योगमा नकारात्मक असर पर्ने संघको ठहर छ।

संघले राज्यको वैधानिक निकायले अनुमति दिइसकेको अवस्थामा रिट दायर हुनु लगानीकर्ता र सर्जकहरूको मनोबल कमजोर बनाउनेतर्फ संकेत गर्दै, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न आग्रह गरेको छ।

‘लालीबजार’ को प्रदर्शन मिति आगामी वैशाख १८ गतेका लागि तय गरिएको छ।