काठमाडौं – निर्देशक ज्ञानेन्द्र देउजा को निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ २’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले मंगलबार फिल्मका मुख्य कलाकार समेटिएको पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३ गते, संविधान दिवसको अवसरमा देशभर प्रदर्शनमा आउने जनाएको हो।
यसअघि दशैंको फूलपातीमा रिलिज गर्ने तयारी भए पनि प्रदर्शन मितिमा देखिएको प्रतिस्पर्धाका कारण सुरक्षित मितिका रूपमा असोज ३ रोजिएको निर्देशक देउजाले बताएका छन्।
सार्वजनिक पोस्टरमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्ट क्यारेक्टर लुक्समा प्रस्तुत छन्, जसले दर्शकमाझ उत्सुकता बढाएको निर्माण पक्षको विश्वास छ।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा बनेको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
फिल्मको कथा निर्देशक देउजाले लेखेका हुन् भने पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार पारेका छन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि. गुरुङको सम्पादन तथा विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको छ।
निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेको फिल्मको छायांकन काभ्रे, काठमाडौं, भक्तपुर, तनहुँ, चितवन लगायतका विभिन्न स्थानमा गरिएको हो। अहिले फिल्मको पोस्ट–प्रोडक्सन तथा डबिङ कार्य धमाधम भइरहेको छ।














प्रतिक्रिया