सुकुम्वासी बस्तीमा डोजर चलाएको विरोधमा बुटवलमा प्रदर्शन


बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउन डोजर चलाएको विरोधमा रुपन्देही का सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।

सरकारको डोजर नीतिका कारण आफूहरू विस्थापित भएको र उठिबास लागेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘हाम्रो मत वैध, हामी कसरी अवैध’, ‘बालेन तिम्रो पाराले, दुःख पायो साराले’, ‘बालेन सरकार राजीनामा दे’ तथा ‘आउने चुनावमा बालेनलाई मत दिन्नौँ’ लगायतका नाराबाजी गरेका थिए ।

संयुक्त रूपमा आयोजित विरोध र्‍याली बुटवलको राजमार्ग चौराहाबाट सुरु भई ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरूले सुकुम्वासीको उचित व्यवस्थापन नगरी बल प्रयोग गरेर बस्ती हटाउनु अन्यायपूर्ण भएको बताएका छन् ।