काठमाडौं – नेपाली चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार सार्वजनिक गरेका दुई फरक पोस्टरले ग्रामीण परिवेश, गरिबी, संघर्ष र अधुरो सपनाको कथा संकेत गरेका छन् ।
पहिलो पोस्टरमा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा देखिएका छन् । दौरासुरुवाल, ढाका टोपी र दुबोको मालामा सजिएका अरुणको पटुकीमा गुलेली सिउरिएको छ भने उनका हातका औंला असामान्य देखाइएका छन् । यसले उनको पात्र शारीरिक रूपमा फरक वा संघर्षपूर्ण जीवनसँग जोडिएको संकेत गर्छ ।
पोस्टरमा अरुणको अनुहारमा उत्साह देखिए पनि सिम्रनको अनुहारमा तनाव र अन्योल झल्किन्छ । पछाडि देखिएको खरको छानो भएको घर, गाउँको आँगन र परिवेशले उनीहरू पहाडी ग्रामीण क्षेत्रका गरिब परिवारसँग सम्बन्धित पात्र भएको संकेत गर्छ ।
अर्को पोस्टरमा सिम्रन एक्लै देखिएकी छन् । उनी खाली खुट्टा डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् तर सँगै किताब पनि पढ्दैछिन् । पोस्टरले विवाहपछि पनि पढाइको सपना नछोडेकी युवतीको संघर्षलाई चित्रण गरेको बुझिन्छ । टाढा देखिएको हिमालले कथाको परिवेश उच्च पहाडी भूगोलमा रहेको संकेत गर्छ ।
डा. कपिल रिजाल निर्देशित चलचित्र ‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको कथा डा. भोला रिजालको हो । निर्माण पक्षका अनुसार ‘गौँथली’ले घर, परिवार र आत्मीय सम्बन्धको प्रतीकात्मक कथा प्रस्तुत गर्नेछ ।
दुई दशकअघि डा. भोला रिजालले यही नाममा निर्माण गरेको ‘गौँथली’लाई नेपालको पहिलो गीति चलचित्रका रूपमा चिनिने गरिन्छ । अहिले सोही नामलाई नयाँ पुस्ताले नयाँ कथासहित पुनर्जीवित गरेको निर्माण पक्षले पाएका छन् ।
















प्रतिक्रिया