दोस्रो हप्तामा ‘मालती मङ्गले’, सार्वजनिक भयो ‘झुटो आरोप’…(हेर्नुस् भिडियो)


काठमाडौं – चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातादेखि नै दर्शकको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाइरहेको चलचित्रले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो यात्रा विस्तार गरेको छ ।

दोस्रो साताको अवसर पारेर निर्माण टिमले ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा रामकृष्ण ढकालको स्वर, गोपाल अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको छ । रिकेश गुरुङले संगीत संयोजन गरेका छन् भने चन्द्र चौधरीले मिक्सिङ र मास्टरिङ गरेका हुन् । निर्माण पक्षका अनुसार गीतले चलचित्रको भावनात्मक पक्षलाई अझ गहिरो बनाउनेछ ।

नेपालमा उत्कृष्ट व्यापार गरिरहेको ‘मालती मङ्गले’ आजदेखि उत्तर अमेरिकामा पनि प्रदर्शनमा आएको छ । सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा चलचित्र अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस र अस्टिनलगायतका सहरमा दैनिक शोसहित प्रदर्शन भइरहेको छ । अङ्ग्रेजी सबटाइटलसहित प्रदर्शन भइरहेको चलचित्रको अग्रिम बुकिङ उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ ।

त्यस्तै, क्यानडा प्रदर्शन अधिकार आँगन इभेन्ट्सले खरिद गरिसकेको छ भने अन्य देशमा पनि चलचित्रको अधिकार ‘सोल्ड आउट’ हुने क्रममा रहेको निर्माता रामकृष्ण ढकालले बताएका छन् ।

दर्शकहरूले चलचित्रलाई हास्य र भावनाले भरिएको ‘नेपालीपन बोकेको मास्टरपिस’को प्रतिक्रिया दिएका छन् । विशेष गरी वर्षा राउत, विजय बराल र मेक्सम गौडेलको अभिनयको प्रशंसा भइरहेको छ ।

प्रकु पाण्डेय निर्देशित चलचित्र ‘मालती मङ्गले’ रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण भएको हो । चलचित्रमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको पनि अभिनय रहेको छ ।