काठमाडौं – अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को डबिङ कार्य सुरु भएको छ । निर्माण टिमले डबिङ सुरु भएको जानकारीसँगै चलचित्रको प्रदर्शन मिति पनि औपचारिक रूपमा घोषणा गरेको हो ।
निर्माण पक्ष र वितरक कम्पनीबीच भएको सहमतिअनुसार चलचित्र आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ । चलचित्रलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।
नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्रीका रूपमा स्थापित रेखा थापा यस चलचित्रमार्फत आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । विशेष कुरा के भने, उनले पहिलो पटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर रहेर निर्देशन गरेकी छन् ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ तथा विनोद पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रमा एकसाथ चार पूर्व मिस नेपालको उपस्थितिले पनि विशेष चर्चा पाएको छ । सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह र उषा खड्गी फरक–फरक भूमिकामा देखिनेछन् ।
गत चैत २८ गते २८ दिनको सेड्युलमा छायांकन सम्पन्न गरिएको चलचित्र अहिले पोस्ट–प्रोडक्सन चरणमा रहेको छ ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका हुन् । करिब १० वर्षपछि लेखनमा फर्किएका लम्सालले प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
चलचित्रमा सुदीप बरालको छायांकन, अनिरुद्ध आत्रेयको प्रमुख सहायक निर्देशन, राजन घिमिरेको फिल्म संयोजन, प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन, प्रिया कार्कीको मेकअप तथा चुडामणि (सीएम) को प्रोडक्सन रहेको छ ।
















प्रतिक्रिया