निर शाहदेखि प्रियंका कार्की र वर्षा राउतसम्मको एउटै भनाइ– ‘लालीबजार’ हेर्नै पर्ने फिल्म


काठमाडौं – प्रदर्शनको दोस्रो सातामा पुगेको फिल्म ‘लालीबजार’ ले दर्शकसँगै कलाकार र फिल्मकर्मीबाट पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । सोमबार काठमाडौँस्थित जय नेपाल हल मा आयोजित विशेष प्रदर्शनीपछि कलाकारहरूले फिल्मको कथा, अभिनय र प्रस्तुतीकरणको खुलेर प्रशंसा गरेका हुन् ।

अभिनेता तथा निर्देशक निर शाह ले ‘लालीबजार’लाई वर्षौंसम्म सम्झिने फिल्मको रूपमा व्याख्या गर्दै नेपाली समाजको कथा जीवन्त रूपमा प्रस्तुत गरिएको बताए । उनले अभिनेत्री स्वस्तिमा खड्का को अभिनयलाई अहिलेसम्मकै उत्कृष्टमध्ये एक भन्दै नव कलाकार विशाल देवकोटा र प्रसंशा सुवेदी को कामको पनि प्रशंसा गरे ।

अभिनेत्री प्रियंका कार्की ले फिल्मको पटकथा र कलाकारहरूको अभिनयले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने बताइन् । उनका अनुसार फिल्मको क्लाइमेक्स निकै सशक्त बनेको छ र ‘लालीबजार’ हेर्नै पर्ने फिल्म हो ।

यस्तै, अभिनेत्री वर्षा राउत ले सामाजिक विषयलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको भन्दै फिल्मले दर्शक र समीक्षक दुवैलाई सन्तुष्ट पार्ने प्रतिक्रिया दिइन् । अभिनेता आयुष्मान डीएस जोशी ले पनि स्वस्तिमाको अभिनय अघिल्ला फिल्मभन्दा अझ सशक्त रहेको बताए ।

फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ का गायक तथा संगीतकार खेम सेन्चुरी ले फिल्म हेर्दा आफू भावुक बनेको प्रतिक्रिया दिएका छन् । उनले फिल्मले एउटी आमाको संघर्ष र सन्तानप्रतिको माया संवेदनशील ढंगले देखाएको बताए ।

फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र फिल्मकर्मीबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित भएको बताइन् । उनका अनुसार ‘लालीबजार’ टिम अहिले काठमाडौँसँगै मोफसलका विभिन्न सहरमा पुगेर दर्शकसँग भेटघाट गरिरहेको छ ।

निर्देशक यम थापा को कथा तथा निर्देशनमा बनेको ‘लालीबजार’ को पटकथा र संवाद उनले प्रदीप भट्टराई सँग मिलेर तयार गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको ट्रेलर अहिले युट्युबको मुभी चार्टतर्फ नम्बर १ मा ट्रेन्डिङमा रहेको छ, जसले दर्शकमाझ फिल्मप्रतिको चासो थप बढिरहेको संकेत गरेको निर्माण पक्षले जनाएको छ ।