विपीन–केकी अभिनित ‘काजी’को अग्रिम टिकट बिक्री खुला


काठमाडौं – यही जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म काजी को अग्रिम टिकट बुकिङ बुधबारदेखि औपचारिक रूपमा खुला गरिएको छ । प्रदर्शनअघि नै देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिनेमा चेनहरूले फिल्मका शो सार्वजनिक गर्न थालेपछि फिल्मप्रति दर्शकको चासो बढ्दो देखिएको छ।

हालसम्म प्राप्त विवरणअनुसार QFX Cinemas अन्तर्गतका राइजिङ मल, पोखरा, वीरगञ्ज, इटहरी, दमौली, बिर्तामोड, नारायणघाट, नेपालगञ्ज, बुटवल लगायत विभिन्न शाखामा टिकट बिक्री खुला गरिएको छ । काठमाडौँ उपत्यकाभित्र १३ र उपत्यकाबाहिर १७ शो गरी प्रारम्भिक चरणमै देशभर ३० शो उपलब्ध गराइएको जनाइएको छ ।

त्यस्तै INI Cinemas ले सिमरा, नवलपरासी, बुटवल तथा काठमाडौँका लोत्से मल, विश्वज्योति सिनेमाज र एनबी सेन्टरमा गरी १९ शो उपलब्ध गराएको छ । यसैगरी One Cinemas ले ७ शो र Big Movies ले २ शो सार्वजनिक गरिसकेका छन् । अन्य हलहरूले पनि क्रमशः शो थप्ने तयारी गरिरहेका छन् ।

प्रेमकथामा आधारित फिल्म ‘काजी’ लाई निर्देशक लक्ष्मण रिजाल ले निर्देशन गरेका हुन् । फिल्ममा विपीन कार्की र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन् । उनीहरूसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, सन्दिपबाबु लोहनी लगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको कथा लेखक प्रदीप भारद्धाज ले लेखेका हुन् भने निर्माणमा नेहान रिजाल र विकासराज जोशी रहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको यो फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा छायांकन चिन्तन राजभण्डारी, संगीत कालीप्रसाद बास्कोटा, नृत्य निर्देशन कविराज गहतराज, रंग संयोजन श्याम कुँवर, ध्वनि डिजाइन सागर अर्याल, पार्श्व संगीत सुजिल कर्माचार्य तथा सम्पादन विपीन मल्लले गरेका छन् ।

नेपालभर फिल्मको वितरण श्रीराम बालाजी फिल्मस् ले गर्ने भएको छ । प्रारम्भिक शो सङ्ख्या र मल्टिप्लेक्सहरूको सहभागिताले फिल्म ‘काजी’ ले प्रदर्शनअघि नै सकारात्मक माहोल बनाउन सफल भएको देखिन्छ ।