दर्शकको दिल जित्न फेरि आउँदैछन् दिल श्रेष्ठ


काठमाडौं – नेपाली फिल्म क्षेत्रमा एक समय आकस्मिक रूपमा उदाएर दर्शकको मनमा गहिरो छाप छोड्ने अभिनेता दिल श्रेष्ठ अहिले फेरि चर्चाको केन्द्रमा छन् । लामो कपाल, शान्त स्वभाव, सरल व्यक्तित्व र प्रेमिल अभिनय शैलीका कारण एक दशकअघि युवापुस्तामाझ लोकप्रिय बनेका दिललाई धेरैले “हराएको रोमान्टिक हिरो” का रूपमा सम्झिने गरेका छन् ।

निर्देशक बाबुराम ढकाल को फिल्म पर्खिराख है मार्फत नेपाली रजतपटमा देखिएका दिलले पहिलो फिल्मबाटै दर्शकको ध्यान आफूतर्फ तानेका थिए । फिल्ममा मुकेश ढकाल मुख्य नायकका रूपमा रहे पनि धेरै दर्शकको नजर दिलमाथि टिकेको थियो । उनको अभिनयमा बनावटीपन थिएन, संवादमा मिठास थियो र अनुहारमा यस्तो सरलता थियो, जसले दर्शकलाई सहजै आकर्षित गर्‍यो ।

उक्त समयमा संचिता लुइटेल र मेलिना मानन्धर जस्ता चर्चित अभिनेत्रीहरू पर्दामा हुँदा पनि दिलले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए । विशेषगरी युवती दर्शकमाझ उनको क्रेज उल्लेखनीय थियो । सामाजिक सञ्जालमा उनको तस्बिर शेयर गर्ने, उनको स्टाइल कपी गर्ने र उनीबारे जानकारी खोज्नेहरूको संख्या अचानक बढेको थियो ।

तर, जुन गतिमा उनी चर्चामा आए, त्यत्तिकै रहस्यमय ढंगले फिल्म क्षेत्रबाट हराए पनि । दर्शकले उनलाई खोजिरहे, तर दिल लामो समय सार्वजनिक जीवनबाट टाढा रहे । बीचमा हिरो रिटर्न्स मार्फत पुनरागमन गर्ने प्रयास भए पनि फिल्मले अपेक्षित समयमा प्रदर्शन नपाउँदा उनको पुनरागमन अधुरै बन्यो ।

अब भने दिल नयाँ आत्मविश्वाससहित फिल्म माया भनेकै यस्तो होला मार्फत दर्शकमाझ फर्किंदैछन् । निर्देशक रेखा थापा को निर्देशनमा बनेको यो फिल्म अहिले नेपाली फिल्म वृत्तमा निकै प्रतिक्षित मानिएको छ । अझ रोचक कुरा, फिल्ममा नम्रता श्रेष्ठ, श्रृष्टि श्रेष्ठ र नीति शाह जस्ता चर्चित अभिनेत्रीहरू हुँदाहुँदै पनि चर्चा दिलकै बढी भइरहेको छ ।

फिल्मको फस्टलुक सार्वजनिक नभइसकेको अवस्थामा पनि दर्शकमाझ उनको नामले उत्सुकता पैदा गरिरहेको छ । “पर्खिराख है” का प्रेमिल नायक फेरि पर्दामा फर्किएका छन् भन्ने खबरले धेरै पुराना दर्शक भावुक बनेका छन् भने नयाँ पुस्ताले पनि उनलाई चासोका साथ हेरिरहेको देखिन्छ ।

फिल्म निर्माण टिमका अनुसार, सेटमा दिलको काम गर्ने शैली निकै प्रभावशाली थियो । धेरै दृश्य उनले वान टेकमै पूरा गरेका थिए । संवादमा नियन्त्रण, भावनामा गहिराइ र पात्रमा डुबेर अभिनय गर्ने उनको शैलीले सेटमा रहेका कलाकार र प्राविधिकसमेत प्रभावित बनेका थिए ।

‘माया भनेकै यस्तो होला’ मूलतः प्रेम, सम्बन्ध र भावनाको कथा हो । फिल्मको केन्द्रमा दिलकै पात्र छ, जसको वरिपरि तीन फरक स्वभावका महिला पात्र घुम्छन् । उनीहरूबीचको सम्बन्ध, प्रेमको जटिलता र अन्तिम गन्तव्य के होला भन्ने कौतुहलताले फिल्मलाई अझ प्रतीक्षित बनाएको छ ।

दिल श्रेष्ठ अहिले पनि आफूलाई “प्रेमिल नायक” कै रूपमा स्थापित गर्न चाहन्छन् । उनी मान्छन्— दर्शकले फिल्म हेरेपछि प्रेमको वास्तविक अनुभूति गर्नेछन् । प्रेमिल गीत, भावनात्मक कथा र संवेदनशील प्रस्तुतिलाई फिल्मको मुख्य शक्ति मानिएको छ ।

लामो समयपछि पुनरागमन गरिरहेका दिलका लागि यो फिल्म केवल एउटा कमब्याक मात्र होइन, आफूलाई फेरि प्रमाणित गर्ने अवसर पनि हो । अभिनयप्रतिको उनको हुटहुटी कहिल्यै नमरेको उनी निकटहरू बताउँछन् । अब निरन्तर फिल्म क्षेत्रमा सक्रिय रहने तयारीमा रहेका दिल श्रेष्ठले फेरि एकपटक दर्शकको दिल जित्न सकून्, यही शुभकामना ।