काठमाडौं l आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यस खेल नेपालका लागि अंक तालिका र आगामी विश्वकप छनोट यात्राका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
घरेलु मैदानमा जारी शृङ्खलालाई जितसहित सुखद अन्त्य गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिँदैछ। यता, अघिल्लो भेटमा हार बेहोरेको अमेरिका भने त्यसको बदला लिने योजनासहित खेल्दैछ। नेपालले यसअघि अमेरिकाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै महत्त्वपूर्ण जित हात पारेको थियो, जसले टोलीको आत्मविश्वास पनि बढाएको छ।
अंक तालिकामा अमेरिका शीर्ष स्थानमा रहेको छ। उसले २७ खेलमा १९ जितसहित ३८ अंक जोडेको छ। समान २७ खेल खेलेको नेपाल भने १० जित, १५ हार र २२ अंकसहित पाँचौँ स्थानमा रहेको छ।
कीर्तिपुरमा घरेलु दर्शकको साथ नेपालका लागि बलियो पक्ष बन्न सक्छ। पछिल्ला खेलहरूमा उत्कृष्ट लय समातेको नेपालले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया