काठमाडौं – म्युजिकल सर्ट फिल्म ‘तिमी–एक रहस्य’मा समावेश गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। आर.बी. पुनको अवधारणामा तयार गरिएको गीतमा लोकप्रिय गायक प्रताप दास को स्वर रहेको छ। गीतका शब्द प्रताप शाही ले लेखेका हुन् भने सङ्गीत सुवास पुन मगर ले दिएका छन्।
गीतको भिडियोमा सामाजिक र पारिवारिक कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। फेसबुकबाट सुरु हुने प्रेम, पारिवारिक हैसियत र वर्गीय अन्तरसँगै गाउँ र सहरको परिवेशलाई कलात्मक शैलीमा देखाइएको भिडियोले दर्शकको मन छुने प्रयास गरेको छ।
उत्तम हुमागाईँ को छायाङ्कन रहेको भिडियोको निर्देशन तथा सम्पादन हरि हुमागाईँ ले गरेका हुन्। भिडियोमा आशीर्वाद क्षेत्री, अश्विनी शाही, राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्ले लगायत कलाकारहरूको अभिनय रहेको छ।
नर्वेमा रहेका नेपाली युवाहरूको संस्था धड्कन नेपाल ग्रुप ले निर्माण गरेको गीतले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि बोकेको छ। गीत सार्वजनिक गर्नुअघि निर्माण टोली भक्तपुरस्थित सहारा केयर सेन्टर पुगेर त्यहाँ आश्रित वृद्धवृद्धालाई आर्थिक सहयोगसमेत हस्तान्तरण गरेको थियो। कार्यक्रममा निर्देशक हरि हुमागाईँ, कलाकार आशीर्वाद क्षेत्री र चेतना काफ्ले लगायतको उपस्थिति रहेको थियो।
धड्कन नेपाल ग्रुपका संस्थापक सङ्गीतकार सुवास पुन मगर र गीतकार प्रताप शाही हुन्। नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखा का अध्यक्षसमेत रहेका छन्।
यस प्रोजेक्टका व्यवस्थापक दिपेन गौतम हुन् भने कार्यकारी निर्माता भगवान भुजेल रहेका छन्। भिडियोको रङ्ग संयोजन प्रवीण मानन्धर ले गरेका हुन्। धड्कन नेपाल ग्रुपको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘नौ डाँडा काटेर’ले कला र सामाजिक सेवाको सुन्दर संयोजन प्रस्तुत गरेको निर्माण पक्षको विश्वास छ।















प्रतिक्रिया