इतिहास रच्ने दाउमा रवीन्द्र ढाँट, अलिन्तोजोनसँग आज भिड्दै


काठमाडौँ । रवीन्द्र ढाँट अहिले आफ्नो करियरकै सबैभन्दा महत्वपूर्ण मोडमा पुगेका छन्। आज हुने प्रतिस्पर्धामा उनको प्रदर्शनले खेलकुद क्षेत्रमा नयाँ इतिहास रच्न सक्ने चर्चा तीव्र बनेको छ। नेपाली मिक्स मार्सल आर्ट्सका चर्चित खेलाडी रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ मा प्रतिस्पर्धा गर्ने भएका छन्।

चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा आज आयोजना हुने बान्टमवेट विधाको क्वाटरफाइनल खेलमा ढाँटले फिलिपिन्सका फाइटर किमबर्ट अलिन्तोजोनको सामना गर्ने तय भएको हो। यसअघि रविन्द्रको सामना म्याटी इआनसँग हुने भनिए पनि इआन चोटग्रस्त भएपछि उनको स्थानमा अलिन्तोजोन आएका हुन्।

म्याट्रिक्स फाइट नाइटको बान्टमवेट च्याम्पियन बनेर इतिहास रचिसकेका २७ वर्षीय रविन्द्रका लागि विश्वकै प्रतिष्ठित ‘अल्टिमेट फाइटिङ च्याम्पियनसिप’ को यात्रा तय गर्ने यो एउटा सुनौलो र ऐतिहासिक अवसर हो। हालसम्म व्यावसायिक एमएमए करियरमा १० मध्ये ९ खेल जितेका रविन्द्र उच्च मनोबलका साथ मकाउमा देशको प्रतिनिधित्व गर्दै रिङमा उत्रिँदै छन्। विश्वभरका नेपाली खेलप्रेमीहरूले यस ऐतिहासिक भिडन्तलाई निकै चासोका साथ पर्खिरहेका छन्।

प्रशिक्षण र तयारी दुवैमा उनले उच्च ध्यान दिएका छन्। टिम स्रोतका अनुसार ढाँटको फिटनेस, रणनीति र मानसिक तयारी पहिलेभन्दा धेरै मजबुत देखिएको छ। विश्लेषकहरूका अनुसार यो खेल उनको लागि केवल एक प्रतिस्पर्धा मात्र नभई करियर परिभाषित गर्ने अवसर पनि हो। जित हासिल भएमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान बनाउन सक्नेछन्। अब सबैको नजर उनको आजको प्रदर्शनमा केन्द्रित छ, जहाँ उनले अपेक्षाअनुसार इतिहास रच्न सक्छन् वा नयाँ चुनौतीको सामना गर्नुपर्नेछ।