लालीबजार’ वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म


चलचित्र ‘लालीबजार’ले घरेलु बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्दै ८ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ।

चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा बक्सअफिस’ले सार्वजनिक गरेको आइतबार मध्यरातसम्मको तथ्यांकअनुसार फिल्मले ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस कमाइ गरेको छ। हालसम्म चलचित्रलाई २ लाख ७६ हजार ९४४ दर्शकले हलमै पुगेर हेरेका छन्।

यो उपलब्धिसँगै ‘लालीबजार’ आर्थिक वर्ष २०८३ को जेठ मध्यसम्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ। यस वर्ष प्रदर्शनमा आएका अन्य चलचित्रको तुलनामा यसको व्यापार दोब्बरभन्दा बढी रहेको बताइएको छ।

घरेलु बजारमा उत्कृष्ट व्यापार गरेसँगै चलचित्रप्रति विदेशस्थित नेपाली समुदाय (डायस्पोरा) को चासोसमेत बढ्दै गएको निर्माण पक्षले जनाएको छ। सामाजिक सञ्जालमार्फत विभिन्न देशबाट प्रदर्शनको माग र जिज्ञासा आइरहेको जानकारी दिँदै निर्माता म्याक्स दीपेश खत्रीले छिट्टै अन्तर्राष्ट्रिय प्रदर्शनबारे निर्णय गरिने बताए।

उनले नेपालका दर्शकबाट प्राप्त माया र समर्थनले निर्माण टिमलाई थप उत्साहित बनाएको उल्लेख गर्दै फिल्मको सन्देश धेरैभन्दा धेरै दर्शकमाझ पुर्‍याउने लक्ष्य रहेको बताए।

वादी समुदायकी एक महिलाले आफ्ना सन्तानको शिक्षा र भविष्यका लागि गरेको संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘लालीबजार’ले शिक्षाको महत्व र सामाजिक रूपान्तरणमा त्यसको प्रभावलाई प्रस्तुत गरेको छ। फिल्मले शिक्षा र सचेतनाले समुदायलाई आफ्नो अधिकारका लागि आवाज उठाउन सक्षम बनाउने सन्देश दिन खोजेको निर्माता खत्रीको भनाइ छ।

निर्देशक यम थापाको निर्देशनमा बनेको चलचित्रले प्रदर्शनको चौथो सातासम्म पनि उत्साहजनक व्यापार गरिरहेको छ। सुरुआती चरणमा कानुनी विवाद र विभिन्न विरोधको सामना गर्नुपरे पनि बक्स अफिसमा भने फिल्मले सकारात्मक नतिजा हासिल गरेको छ। हाल देशभर करिब १९२ शोमा प्रदर्शन भइरहेको यो चलचित्र चौथो सातासम्म पनि दर्शकको रोजाइमा परेको छ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ।

यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका छन्। निर्देशक यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद यम थापा तथा प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।