काठमाडौं – देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा निर्देशक दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ।
श्यामश्वेत थिममा रोयल भीमसनेले डिजाइन गरेको पोस्टरमा विकट ग्रामीण परिवेशमा रहेका सन्चलाल र एक बालकको भावनात्मक दृश्य समेटिएको छ। पोस्टरले वृत्तचित्रको गम्भीर विषयवस्तु तथा यसले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेका सफलतालाई उजागर गरेको छ।
मकवानपुरको मनोहरी क्षेत्रको जङ्गलबीच रहेको विकट चेपाङ बस्तीमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति सन्चलालको जीवनकथामा आधारित यो वृत्तचित्रले गरिबी, अभाव र एक्लोपनका बीच पनि आशा र संघर्षलाई जीवित राख्ने उनको अदम्य साहसलाई प्रस्तुत गरेको छ।
निर्देशक दिपेन्द्र केसीले सीमान्तकृत समुदायको यथार्थ र सन्चलालको मार्मिक जीवनलाई संवेदनशील ढंगले पर्दामा उतारेका छन्। वृत्तचित्रले नेपाली समाजको एउटा लुकेको यथार्थलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सफल भएको छ।
यस वृत्तचित्रले अष्ट्रेलियामा आयोजित टाइटान इन्टरनेसनल फिल्म फेस्टिभल २०२५ मा चौथो सिजन तथा वर्षकै उत्कृष्ट वृत्तचित्रको उपाधिसहित दुई अवार्ड जितिसकेको छ। साथै, बलिउड एन्ड हलिउड फिल्म फेस्टिभल अष्ट्रेलिया २०२६ का लागि पनि आधिकारिक रूपमा छनोट भइसकेको छ।
वृत्तचित्रको लेखन दिपेन्द्र केसी र ईश्वर लुइँटेलले संयुक्त रूपमा गरेका हुन्। अर्जुन सापकोटा र हिमाल शर्माले छायांकन गरेको वृत्तचित्रको सम्पादन मदन घिमिरेले गरेका छन्।

















प्रतिक्रिया