काठमाडौं – गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ। पाँचौँ सातासम्म आइपुग्दा पनि फिल्मले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ।
देशभर ८१ शो प्राप्त गर्दै ‘लालीबजार’ हाल प्रदर्शनरत नेपाली फिल्ममध्ये सबैभन्दा बढी शो पाउने फिल्म बनेको छ। पाँचौँ सातामा पनि प्राप्त भएको यो शो सङ्ख्याले फिल्मप्रति दर्शकको आकर्षण कायम रहेको संकेत गर्छ। निर्माण टिमका अनुसार फिल्मलाई हालसम्म ३ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्, जसले यस वर्ष प्रदर्शन भएका नेपाली फिल्महरूमध्ये यसलाई अग्रस्थानमा उभ्याएको छ।
फिल्मले निरन्तर दर्शकको माया पाइरहेपछि निर्माण टिम देशका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया संकलन गरिरहेको छ। अभिनेता रवीन्द्रसिंह बानियाँले ‘लालीबजार’ले षट्कोण आर्ट्सका अघिल्ला सफल फिल्मझैँ दर्शकको मन जित्न सफल भएको बताए।
उनले भने, “फिल्म परिवारसँग बसेर हेर्नुपर्ने रहेछ भन्ने महसुस भएपछि अहिले दर्शकहरू आफ्नो परिवार नै लिएर हल पुग्नुभएको छ। षट्कोण आर्ट्सका फिल्महरू मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेका हुन्छन्। हामीलाई विश्वास गरेर ‘लालीबजार’ हेर्न आउनुभएका दर्शक हलबाट सन्तुष्ट भएर निस्कनुभएको देख्दा निकै खुसी लाग्छ।”
उनका अनुसार फिल्म हेर्न हजुरबुवादेखि नातिनातिनासम्मका दर्शक हलमा पुगिरहेका छन्। यसअघि षट्कोण आर्ट्सले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ।
‘लालीबजार’को विषयवस्तु, निर्देशन र कलाकारहरूको जीवन्त अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन्। विशेषगरी आमा र छोरीको सम्बन्ध तथा संघर्षको कथाले धेरै दर्शकलाई भावुक बनाएको छ। फिल्म हेरेर बाहिरिने अधिकांश दर्शकले आफ्ना आँखा रसाएको र कथासँग गहिरो रूपमा जोडिएको प्रतिक्रिया दिएका छन्।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले नेपाली चलचित्रमा डेब्यु गरेका छन्।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

















प्रतिक्रिया