हङकङमा हुने भयो चलचित्र ‘जोर ढुंगा’को ग्राण्ड प्रिमियर


काठमाडौं – युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ। चलचित्रको ग्राण्ड प्रिमियरअघि गत मे ३० मा आयोजित विशेष कार्यक्रममा यसको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो।

कार्यक्रममा आगामी अगस्ट ३०, २०२६ मा हङकङको हुङहम वाम्पोस्थित सनबिम सिनेमा हलमा ‘जोर ढुंगा’ को ग्राण्ड प्रिमियर आयोजना गरिने जानकारी दिइयो।

ताप्लेजुङको निगुरादेन आसपासका रमणीय स्थानहरूमा छायांकन गरिएको यो सिनेमा लिम्बु समुदायको परिवेशमा आधारित छ। स्थानीय संवाद र अंग्रेजी सबटाइटलसहित निर्माण गरिएको सिनेमाले पूर्वी नेपालको संस्कृति, जीवनशैली र कथालाई पर्दामा उतारेको छ।

वाई के फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा जेनेक्स मिडिया र शाहसी डिजिटलको सहकार्य रहेको छ। हङकङ निवासी रमेश लिम्बु, रोमन लावती र योगेश लामा निर्माता रहेका छन् भने अमेरिकामा रहेका ह्यारी योञ्जन कार्यकारी निर्माताको भूमिकामा छन्।

चलचित्रमा प्रतीक थेबे लिम्बु, मौसम ईम्बुङ (फुलेन्देको बाउ), पुष्पाञ्जली तिल्लिङ, योगेश लामा, हार्दिक पौडेल, सिद्धार्थ लिम्बु, विष्णु राई तथा मदनकुमारी पोमु लिम्बूको मुख्य अभिनय रहेको छ।

सुरेन्द्र रानाले गीत तथा संवाद लेखन गरेको चलचित्रको निर्माण नियन्त्रक अनिल थोप्रा हुन्। अनिल कुमार महर्जनको सम्पादन रहेको सिनेमाको छायांकन मोहन कुमार झिल्लुले गरेका छन्।

यसका साथै दिनेश माङमु प्रोडक्सन डिजाइनर, निश्चल कुलुङ कला निर्देशक, राजेन्द्र मोक्तान कलरिस्ट, जानु आले मेकअप आर्टिस्ट तथा महेश्वर सम्बाहाङ्फे मुख्य सहायक निर्देशकको रूपमा रहेका छन्।