काठमाडौं – विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सहभागी हुन भारतीय चर्चित कोरियोग्राफर तथा टेलिभिजन व्यक्तित्व Terence Lewis काठमाडौं आइपुगेका छन्। उनी आज हुने प्रतियोगितामा सेलिब्रेटी ग्रान्ड जुरीको भूमिकामा रहनेछन्।
उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वर्ल्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक JD Tamu, राष्ट्रिय निर्देशक Roshan Gahatraj लगायत आयोजक टोलीले स्वागत गरेको थियो। टेरेन्ससँगै ‘टेरेन्स लुइस डान्स एकेडेमी’की प्रमुख कोरियोग्राफर Meher Malik Dumasia पनि नेपाल आएकी छन्।
विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै टेरेन्सले नेपाल आउन पाउँदा खुशी लागेको बताए। उनले जेडी तमुलाई आफ्नो उत्कृष्ट विद्यार्थी र एकेडेमीको ब्याच टपरको रूपमा स्मरण गर्दै ग्रान्ड फिनालेले आफूलाई विशेष अनुभव दिने विश्वास व्यक्त गरे।
भारतमा रहँदा धेरै नेपाली डान्सरहरूसँग काम गरेको अनुभव सुनाउँदै उनले नेपाली प्रतिभाको खुलेर प्रशंसा गरे। सीमित स्रोतसाधनका बाबजुद नेपाली कलाकारहरूले विश्वस्तरको प्रस्तुति दिन सक्ने क्षमता राख्ने उनको भनाइ थियो।
बलिउडका सफल कोरियोग्राफर टेरेन्स लुइस ‘कन्टेम्पररी डान्स’लाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वका रूपमा परिचित छन्। उनले चर्चित फिल्महरूमा कोरियोग्राफी गर्नुका साथै ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता लोकप्रिय रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गर्दै आएका छन्।
सन् २००८ मा अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएको ‘वर्ल्ड अफ डान्स’ हाल ५० भन्दा बढी देशमा विस्तार भइसकेको छ। नेपालमा यसको आयोजना गरेर नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्य राखिएको आयोजकको भनाइ छ।
आज हुने ग्रान्ड फिनालेमा टेरेन्स लुइससँगै नेपालका चर्चित डान्स समूह Wild Ripperz Crew का सदस्य Kiran Thapa र जेडी तमु निर्णायक मण्डलमा रहनेछन्।
नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरीमा सम्पन्न अडिसनबाट छनोट भएका उत्कृष्ट प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन गरी चार विधामा विभाजन गरिएको छ।
प्रत्येक विधाका विजेताले १ लाख रुपैयाँ नगद पुरस्कारसहित २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी प्राप्त गर्नेछन्। साथै विजेताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछन्।
आयोजकका अनुसार अमेरिकी दूतावासको समेत सहकार्य रहेको यो प्रतियोगिता नेपाली नृत्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि बन्ने अपेक्षा गरिएको छ। उदीयमान डान्सरहरूका लागि यसले नयाँ सम्भावना र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

















प्रतिक्रिया