अञ्जु पन्तकी छोरी पारितोषिका फिल्ममा डेब्यू गर्दै


काठमाडौं – चर्चित गायिका अन्जु पन्तकी छोरी पारितोषिका पन्तले चलचित्र अभिनयमा डेब्यू गर्ने पक्का भएको छ। उनी निर्देशक अमरदीप सापकोटाको आगामी चलचित्र ‘तीन तिघ्रे, क्या बिग्रे’ मार्फत ठूलो पर्दामा देखिन लागेकी हुन्।

निर्देशक सापकोटाका अनुसार पारितोषिकालाई चलचित्रको शीर्ष भूमिकामा अनुबन्धित गरिएको छ। सोमबार उनको निर्माण टिमसँग लिखित सम्झौता समेत सम्पन्न भएको छ।

निर्देशक सापकोटाले पारितोषिकालाई चयन गर्नुको कारणबारे भने, “केही समयअघि उनले अभिनय गरेको नाटक ‘स्वर्णदेश’ हेरेपछि अञ्जु पन्त दिदीसँग कुरा भएको थियो। हामीलाई नयाँ र ताजा अनुहार चाहिएको थियो, त्यसैले हामीले आफैं उनलाई अप्रोच गरेका हौं।”

पारितोषिका हाल केही समयदेखि मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिइरहेकी थिइन्। उनको फिल्मी करियरको सुरुवात यसै चलचित्रबाट हुन लागेको हो।

यो चलचित्रमा लोकप्रिय गायक पशुपति शर्माले पनि अभिनयमा डेब्यू गर्ने भएका छन्, जसले फिल्मलाई थप रोचक बनाएको छ।

निर्माता रघुनाथ सापकोटाले निर्माण गर्ने यो चलचित्रको छायांकन आगामी असार २८ गतेदेखि सुरु हुने तयारी छ। फिल्मको छायांकन कीर्तिपुर र काभ्रेको पनौती क्षेत्रमा गरिनेछ। हाल चलचित्रको प्रि–प्रोडक्सन कार्य तीव्र रूपमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।