पासपोर्ट खरिद प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै १८ जना तथा सम्बन्धित संस्थाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी र तुलसी आचार्यसहितलाई प्रतिवादी बनाइएको छ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीका अनुसार मुद्दामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको छ। अख्तियारले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक तथा २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएको जनाएको छ।

यसै प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि बयान लिइएको थियो। तर अभियोजन दर्ता गर्दा उनलाई प्रतिवादी बनाइएको छैन।