मदनकृष्ण श्रेष्ठको जीवन अब ठूलो पर्दामा, बायोपिक ‘मदनकृष्ण’ निर्माण घोषणा


काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। राजधानीमा आयोजित विशेष समारोहबीच चलचित्रको औपचारिक घोषणा गरिएको हो।

चलचित्रको शुभारम्भ मदनकृष्ण श्रेष्ठ र उनका दीर्घकालीन सहयात्री हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए। बायोपिकले मदनकृष्णको बाल्यकालदेखि कलाकारितासम्मको यात्रा, जीवनका संघर्ष, उतारचढाव, अन्तरजातीय विवाह, सरकारी सेवाको अनुभव तथा हरिवंश आचार्यसँगको ऐतिहासिक सहकार्यलाई समेट्नेछ।

चलचित्रको निर्देशन मिलन चाम्सले गर्नेछन्। बायोपिक निर्माणमा विशेष पहिचान बनाएका चाम्सले यसअघि ‘अञ्जिला’, ‘ब्लाइन्ड रक्स’ र ‘बबी’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।

चलचित्रमा मदनकृष्णको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने मदनकृष्णकी पत्नी यशोदाको भूमिकामा केकी अधिकारी रहनेछिन्। साथै, राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।

हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषय भने निर्माण टिमले हाल गोप्य राखेको छ, जसले दर्शकमाझ थप उत्सुकता बढाएको छ।

कार्यक्रममा धिमे बाजासहित मदनकृष्ण श्रेष्ठलाई स्वागत गरिएको थियो। माला र खादाले सम्मान गरिँदा उनी भावुक बनेका थिए। छेउमै बसेका हरिवंश आचार्यले बायोपिक सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा आधारित चलचित्र बन्न लागेकोमा खुसी व्यक्त गरे। उनले आफ्नो सफल यात्रामा हरिवंश आचार्यको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै दर्शकले आफ्नो जीवनलाई अझ नजिकबाट बुझ्ने अवसर पाउने बताए।

त्यसैगरी हरिवंश आचार्यले मदनकृष्णको बायोपिक निर्माण हुनु नेपाली कला क्षेत्रकै गौरवको विषय भएको बताए। उनले निर्देशक मिलन चाम्सलाई साहसी र ऊर्जाशील निर्देशकको संज्ञा दिँदै चलचित्रले कथालाई न्यायपूर्ण ढंगले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बायोपिक निर्माण चुनौतीपूर्ण भए पनि यसले नेपाली चलचित्र उद्योगमा नयाँ माइलस्टोन कायम गर्ने विश्वास व्यक्त गरे।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने ‘मदनकृष्ण’का निर्माता राजकुमार श्रेष्ठ हुन्। चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन्। पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक तथा भरत कँडेल साउन्ड डिजाइनर रहेका छन्।

भदौको दोस्रो सातादेखि छायांकन सुरु हुने चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहनेछ।