‘जलाकी’को प्रदर्शन मिति घोषणा, सोनम–उपासनाको प्रेमकथा मंसिर ४ देखि


काठमान्डौ – चलचित्र ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् दही–चिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई फरक–फरक भावमा प्रस्तुत गरिएको छ। दुवै पोस्टरले प्रेमकथालाई फरक मनोविज्ञान र भावनात्मक आयाममार्फत चित्रण गरेका छन्। पोस्टरहरू ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्।

पहिलो पोस्टरमा सोनम र उपासना रोमान्टिक तथा खुसीका क्षणमा देखिएका छन्। एकअर्काप्रतिको आत्मीयता, प्रेम र विश्वासलाई केन्द्रमा राखिएको उक्त पोस्टरले चलचित्रको प्रेमिल पक्ष उजागर गर्छ। दोस्रो पोस्टरमा भने दुवै कलाकार गम्भीर र भावुक मुद्रामा प्रस्तुत छन्। उनीहरूबीचको मौनता, पीडा र भावनात्मक द्वन्द्व झल्काउने पोस्टरले कथामा आउने उतारचढावको संकेत गर्छ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट बनाइएको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक अशोक थापा मगरका अनुसार चलचित्रमा यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा तथा भावनालाई कथामार्फत प्रस्तुत गरिएको छ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् भने बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन्।

यस चलचित्रमार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्। निर्देशक अशोक थापा मगरको डेब्यु चलचित्र ‘खुस्मा’ बाट अभिनेत्री उपासना सिंह ठकुरीले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गरेकी थिइन्। सोही सफल सहकार्यलाई निरन्तरता दिँदै निर्देशक मगरले ‘जलाकी’ मा पनि उपासनालाई मुख्य भूमिकामा प्रस्तुत गरेका छन्।

चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना तथा राम अविरल विष्टको गीत रचना रहेको छ। साथै एसडी योगी, अञ्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगरको स्वर सुन्न पाइनेछ।

यसअघि निर्देशक थापा मगरको डेब्यु चलचित्र ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। चलचित्रमा समावेश ‘रुकुम मैकोट’ बोलको गीत टिकटक, फेसबुक रिल्स तथा युट्युबमा अत्यन्त लोकप्रिय बनेको थियो। ‘खुस्मा’ को सफलतापछि निर्देशक मगर आफ्नो नयाँ प्रस्तुति ‘जलाकी’ ले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गर्छन्।

चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछन्।