काठमाडौं – आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। कपनगढी सिनेमा र फिल्म क्रु नेपालको प्रस्तुतिमा निर्माण भएको फिल्मको यो गीतले आमाको माया, त्याग र महत्वलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर रहेको छ भने डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतका भावपूर्ण शब्दहरूले आमाको महिमा उजागर गर्नुका साथै वृद्धाश्रममा बस्न बाध्य भएका आमाबुबाको पीडादायी यथार्थलाई समेत उठान गरेका छन्। गीतले फिल्मको मूल कथावस्तुसँग जोडिएको भावनात्मक पक्षलाई पनि संकेत गर्छ।
गीतको भिडियोमा अतिथि कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई विशेष रूपमा प्रस्तुत गरिएको छ। साथै, फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुसाल र चैत्यदेवी सिंह पनि भिडियोमा देखिएका छन्।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोद पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन तथा ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहेको छ।
तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो। सोही सफल फिल्मको सिक्वेलका रूपमा निर्माण भएको ‘झिंगे दाउ २’ ले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण टिमले गरेको छ। फिल्मको नेपालभर वितरण एप्पल इन्टरटेन्मेन्टले गर्नेछ।

















प्रतिक्रिया