प्रदर्शनअघि नै ‘आ बाट आमा २’को अन्तर्राष्ट्रिय क्रेज, मध्यपूर्व प्रदर्शन अधिकार पनि बिक्री


काठमाडौं – निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गरिरहेको छ। जापान तथा अमेरिका–क्यानडापछि अब चलचित्रको मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) प्रदर्शन अधिकार पनि बिक्री भएको निर्माण पक्षले जनाएको छ।

मध्यपूर्व वितरण अधिकारका लागि आर्या इन्टरटेनमेन्ट प्रा.लि. र आशिष इन्टरटेनमेन्ट बीच औपचारिक सम्झौता सम्पन्न भएको हो। निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीले सम्झौतापत्रमा हस्ताक्षर गर्दै उक्त क्षेत्रको प्रदर्शन अधिकार बिक्री भएको पुष्टि गरेका छन्।

यसअघि चलचित्रको जापान प्रदर्शन अधिकार ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ ले तथा अमेरिका र क्यानडाको अधिकार ‘डोको फिल्म्स’ ले महँगो रकममा खरिद गरिसकेका छन्। लगातार ओभरसिज अधिकार बिक्री हुनुले चलचित्रप्रति अन्तर्राष्ट्रिय बजारको विश्वास र दर्शकको उत्साह झल्किएको निर्माण टिमको भनाइ छ।

आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्का लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रले वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा जीवन बिताइरहेकी आमाको संवेदनशील कथालाई प्रस्तुत गर्छ। ‘आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौँदेखि जमरा छरिरहेकी हुन्छिन्’ भन्ने भावनात्मक संवादले चलचित्रप्रतिको उत्सुकता थप बढाएको छ।

निर्देशक चन्द्र पन्तकै लेखन तथा पटकथा रहेको यस चलचित्रका प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्। आगामी असोज ३० गते, दशैँको अवसर पारेर चलचित्रलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरिएको छ। ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ भन्ने स्लोगन बोकेको चलचित्र पारिवारिक तथा भावनात्मक कथावस्तुमा आधारित छ।

नेपालमा चलचित्रको वितरण आरआर फिल्म्स ले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटल ले प्राप्त गरेको छ।

उल्लेखनीय रूपमा, निर्देशक चन्द्र पन्तकै निर्देशन तथा निर्माणमा बनेको पहिलो श्रृंखला ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो। चलचित्र विकास बोर्डले पनि आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको सर्वाधिक कमाउने नेपाली चलचित्रहरूको सूचीमा यसलाई समावेश गरेको थियो। अब दोस्रो श्रृंखलाले पनि त्यही सफलता दोहोर्याउने अपेक्षा निर्माण पक्षले गरेको छ।