‘भागदौड’को ट्रेलर सार्वजनिक, संघर्ष र नैतिक संकटको कथा


काठमाडौं – चलचित्र ‘भागदौड’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरले मानिसको दैनिक जीवनमा हुने निरन्तर दौडधुप, संघर्ष र यथार्थलाई केन्द्रमा राखेको देखिन्छ। आधुनिक समाजमा व्याप्त लोभ, लालच, जालझेल र ठगीजस्ता प्रवृत्तिबाट उत्पन्न हुने नैतिक संकटलाई कथाको मुख्य विषयवस्तु बनाइएको संकेत ट्रेलरले दिएको छ।

ट्रेलरमा मुख्य भूमिकामा रहेका अभिनेता विशाल पोखरेल नेपाल प्रहरीको बर्दीमा देखिएका छन्। निर्माण पक्षका अनुसार उनको पात्रले दर्शकलाई फरक अनुभव र सरप्राइज दिनेछ।

चलचित्रमा विशाल पोखरेलसँगै अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिना लगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन्।

विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको ‘भागदौड’ आगामी असार २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षले चलचित्रलाई सशक्त कथा र सन्देश बोकेको उत्कृष्ट प्रस्तुति भएको दाबी गरेको छ। सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्राप्त गरिसकेको चलचित्रले परीक्षण प्रदर्शनका क्रममा समेत सकारात्मक प्रतिक्रिया पाएको बताइएको छ।

अंगिरा थापा कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्मातामा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी रहेका छन्।

सुप्रिम म्युजिक एण्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, प्रवीन ढकालको सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ।