नेपाल प्रिमियर लिगका ६ फ्रेन्चाइजसँग एक्सट्रिम इनर्जी ड्रिंक्सको टाइटल स्पोन्सर सम्झौता


काठमाडौं। एग्रो बाई फुड्स प्रालिद्वारा उत्पादित एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि ६ वटा फ्रेन्चाइज टोलीसँग तीन वर्षे टाइटल स्पोन्सर सम्झौता गरेको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग सम्झौता गरेको हो।

सम्झौताअनुसार ती टोलीका खेलाडीको जर्सीको अगाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले एउटै ब्रान्डले एकैपटक ६ वटा फ्रेन्चाइज टोलीलाई प्रायोजन गर्नु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यस्ता व्यावसायिक साझेदारीले एनपीएलको ब्रान्ड मूल्य बढाउनुका साथै नेपाली क्रिकेटको व्यवसायिक विकासमा पनि सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।