रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक…(हेर्नुस् भिडियो)


काठमाडौं – अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका गीतकार रुपेश शर्माको नयाँ गीत ‘मायाको चिनो’ सार्वजनिक गरिएको छ। आर क्युब इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको गीतको भिडियोले प्रेम, विश्वास र सम्झनाको भावलाई प्रस्तुत गरेको छ।

गीतमा सिडी विजय अधिकारी र मनीषा राईको स्वर रहेको छ। संगीत पनि सिडी विजय अधिकारीकै रहेको गीतको म्युजिक प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ पुष्कर खत्रीले गरेका छन्। गायक–गायिका सिडी विजय अधिकारी र मनीषा राई वास्तविक जीवनका श्रीमान्–श्रीमती हुन्।

गीतको भिडियोमा रुपेश शर्मा, रुकमिना तिम्सिना र सुरवीर पण्डितको अभिनय देख्न सकिन्छ। प्रेममा रहेका दुई पात्रले मायाको चिनोका रूपमा औँठी र रुमाल साटासाट गर्ने भावनात्मक कथालाई भिडियोमार्फत प्रस्तुत गरिएको छ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकले गरेका हुन्। रामकुमार केसीको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ कल्पेश विश्वकर्माले गरेका छन्। मेकअप गीत तामाङले गरेकी हुन् भने ग्रुप लिडर राजाराम सिंखडा र सहायक निर्देशक राहुल अधिकारी रहेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन एन अल्फा स्टुडियोमा सम्पन्न गरिएको छ।