माया भनेकै यस्तो होला’को फर्स्टलुकमा हल्दी–मेहन्दी गर्दै दिल श्रेष्ठ


काठमाडौं – अभिनेत्री रेखा थापाले ८ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘माया भनेकै यस्तो होला’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। तीजको अवसर पारेर आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको पोस्टरले पारिवारिक कथावस्तुको संकेत गरेको छ।

सार्वजनिक पोस्टरमा अभिनेता दिल श्रेष्ठलाई केन्द्रमा राखिएको छ। विवाहअघिको हल्दी समारोहमा रहेका उनलाई लक्ष्मी गिरी र संगम भण्डारीले हल्दी लगाइरहेको दृश्य देख्न सकिन्छ। ह्विलचेयरमा बसेका मदनकृष्ण श्रेष्ठ भने मुस्कुराउँदै दिललाई हेरिरहेका छन्।

पोस्टरमा सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठको पनि उपस्थिति छ। सृष्टि र नीतिको सिउँदोमा सिन्दुर देखिन्छ भने नम्रता हातमा बुके लिएर उभिएकी छन्। पोस्टरले प्रेम र पारिवारिक सम्बन्धको सेरोफेरोमा फिल्म निर्माण भएको संकेत दिएको छ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, विनोद पौडेल र सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। ‘पर्खि राख है’ र ‘हिरो रिटर्न्स’पछि अभिनेता दिल श्रेष्ठ पनि करिब ६ वर्षपछि यही फिल्ममार्फत ठूलो पर्दामा फर्किएका हुन्।

पत्रकार ध्रुव लम्सालको लेखन रहेको फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। फिल्ममा सुदीप बरालको छायांकन, प्रशान्त सिवाकोटीको संगीत तथा पत्रकार राजन घिमिरेको संयोजन रहेको छ। निर्माण टिमका अनुसार फिल्मले प्रेमकथामार्फत पारिवारिक सम्बन्धका विविध आयामलाई उजागर गर्ने प्रयास गरेको छ।