काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई मनोनीत गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त अध्यक्ष पदमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य प्रेस काउन्सिलका अध्यक्ष थिए। सरकारले अध्यादेश जारी गरेपछि उनीसहितका पदाधिकारी पदमुक्त भएका थिए, जसपछि अध्यक्ष पद रिक्त रहेको थियो।
पत्रकारिता क्षेत्रमा लामो अनुभव रहेका श्रेष्ठ पछिल्लो समय नेपालफ्याक्टचेकका सम्पादकका रूपमा कार्यरत थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन्।
मिथ्या सूचना (फ्याक्ट–चेकिङ), डिजिटल पत्रकारिता, डाटा पत्रकारिता र एआईको प्रयोगसम्बन्धी प्रशिक्षणमा सक्रिय श्रेष्ठ सीएमआर नेपाल जर्नालिजम एकेडेमीका प्रमुख प्रशिक्षकसमेत हुन्।
उनले सिटी टाइम्स, अप्सरा साप्ताहिक, स्पेस टाइम्स दैनिक, नागरिकन्युज, अन्नपूर्ण पोस्ट डटकम र पहिलोपोस्ट डटकममा सम्पादकीय नेतृत्वको अनुभव बटुलेका छन्। साथै, नेपाली अनलाइन पत्रकारिताको सुरुआती चरणमा परेवा डटकम र चर्चित ब्लग माइसंसारको स्थापना गरेका श्रेष्ठ अहिले पनि ‘सालोक्य’ नामबाट ब्लग लेख्दै आएका छन्।

















प्रतिक्रिया