काठमाडौं । आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको गीत हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
डान्सिङ बिटमा आधारित गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा चलचित्रका मुख्य कलाकार नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापाबीचको प्रेम त्रिकोणलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको चलचित्र ‘जदौ’ आगामी असोज ९ गते देशभर प्रदर्शनमा आउनेछ।
गीत सार्वजनिक कार्यक्रममा गायक राजनराज शिवाकोटी र गायिका रचना रिमालले ‘बदाम खजुर, दर्शन सलाम ढोग दिँयाँ जदौ हजुर…’ गीत प्रस्तुत गर्दै माहोललाई उत्साहपूर्ण बनाएका थिए। कार्यक्रममा बोल्दै राजनराजले आफूले पहिलोपटक कुनै गीतमा केवल गायकका रूपमा स्वर दिएको अनुभव सुनाए भने रचनाले राजनराजसँगको यो आफ्नो पहिलो पार्श्वगायन रहेको बताइन्।
समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौडेल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय रहेको छ।
कार्यक्रममा अभिनेत्री नीति शाहले ‘जदौ’ अहिले प्रदर्शनमा आइरहेका चलचित्रभन्दा फरक र यथार्थपरक कथामा आधारित रहेको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। अभिनेता मुकुन भुसालले चलचित्रमा आफूलाई वास्तविक पात्रका रूपमा दर्शकले अनुभूति गर्ने बताए भने प्रभातपाल ठकुरीले ‘जदौ’ आफ्नो करियरकै महत्वपूर्ण चलचित्र भएको उल्लेख गरे। यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी राजश्री थापाले आफ्नो पहिलो प्रयासलाई दर्शकले माया गर्ने अपेक्षा व्यक्त गरिन्।
निर्देशक अन्जन शर्माले उत्कृष्ट चलचित्र निर्माणका लागि कुनै कसर बाँकी नराखिएको बताए। सहनिर्देशक तथा लेखक काजी लिम्बुले चलचित्रले मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश पनि दिने विश्वास व्यक्त गरे।
श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको चलचित्रका सह–निर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल रहेका छन्। सृजना शर्मा र मनिष शर्मा निर्माता, शान्ति पुडासैनी कार्यकारी निर्माता तथा बिमला भण्डारी प्रोडक्सन हेड रहेको चलचित्रलाई एनजीसीएन ग्रुपले देशव्यापी वितरण गर्नेछ।

















प्रतिक्रिया