काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष समारोहबीच चलचित्र सार्वजनिक गरिएको हो।
घोषणा कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्रको सफलताको शुभकामना व्यक्त गरे।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। कार्यक्रममा बोल्दै उनले रघुजी फिल्म्सबाट यसअघि घोषणा गरिएका अन्य चलचित्रहरू पनि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने जानकारी दिए।
चलचित्रका गीतमा पशुपति शर्माको संगीत तथा स्वर रहनेछ भने छायांकन संकल भुजेलले गर्नेछन्। निरज नेपाल कार्यकारी निर्माता रहेको चलचित्रमा शमशेर लामा मेकअप आर्टिस्ट र जीवन पोखरेल भेषभूषा डिजाइनरका रूपमा आबद्ध छन्।
चलचित्रमा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, बेगम नेपाली, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना र राजु तिमल्सिनालगायत कलाकारहरूको अभिनय रहनेछ।
निर्देशक अमरदीप सापकोटाका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’ पूर्ण मनोरञ्जनात्मक कमेडी चलचित्र हुनेछ, जसले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई नयाँ स्वादका साथ दर्शकमाझ प्रस्तुत गर्नेछ।
चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।

















प्रतिक्रिया