मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको सभापतिमा ज्ञवाली चयन


बुटवल । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रूपन्देहीको सभापतिमा कपिल ज्ञवाली सर्वसम्मत चयन भएका छन् । बुटवलमा सम्पन्न समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभाबाट उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा अर्जुनबहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोखरेल चयन भएका छन् ।

बैठकले गङ्गा गैरेलाई सदस्य पदमा मनोनयन गरेको छ । कार्यसमितिका बाँकी दुई सदस्य भने आगामी बैठकबाट मनोनयन गरिने जनाइएको छ ।

नयाँ कार्यसमिति चयनका लागि समाजका पूर्वसभापति कृष्ण भट्टराई (खिमप्रसाद) को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । समितिमा तेजेन्द्र केसी र सरोज गौतम सदस्य रहेका थिए । निर्वाचन प्रक्रिया सोही समितिको समन्वयमा सम्पन्न भएको हो ।

यसअघि साधारणसभाको उद्घाटन सत्रमा समाजकी केन्द्रीय सभापति रेणुका पौडेल, पूर्वसभापति गोविन्द खनाललगायत विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरूले मानव अधिकार तथा शान्ति समाजको भूमिका र दायित्वबारे धारणा राखेका थिए ।

कार्यक्रममा वक्ताहरूले मानव अधिकारको संरक्षण, लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धन, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताको सुनिश्चितताका लागि नागरिक समाजका संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।

सभापतिमा चयन भएपछि ज्ञवालीले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनसँगै शान्ति, लोकतन्त्र, सामाजिक न्याय र नागरिक स्वतन्त्रताका पक्षमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले संस्थाको उद्देश्यअनुरूप मानव अधिकारका विषयमा नागरिक सचेतना अभिवृद्धि गर्ने तथा समाजमा शान्ति, सद्भाव र समानताको वातावरण निर्माण गर्न आफ्नो कार्यकालमा विशेष पहल गर्ने बताएका छन् ।

नयाँ नेतृत्व चयनसँगै रूपन्देहीमा मानव अधिकार, लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताका पक्षमा समाजका गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।