काठमाडौं – चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ। मुख्य कलाकार विजय बराल छायांकनका क्रममा घाइते भएपछि केही समय रोकिएको फिल्मको काम उनी स्वास्थ्यलाभ गरेसँगै फेरि अघि बढाइएको हो।
छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो। उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उनी पुनः सेटमा फर्किएका छन् र अहिले बाँकी दृश्यहरूको छायांकन तीव्र रूपमा भइरहेको छ।
चलचित्रको छायांकन जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कमा सुरु भएको थियो। करिब १५ दिनको छायांकनपछि विजय घाइते भएपछि काम रोकिएको थियो। निर्देशक सरोज पौडेलका अनुसार दुई साताअघि सोही स्थानबाट पुनः छायांकन सुरु गरिएको हो।
“हामीले दुई सातादेखि पुनः छायांकन सुरु गरेका छौँ। केही समय काम रोकिए पनि अहिले उही उत्साह र समर्पणका साथ अघि बढिरहेका छौँ,” निर्देशक पौडेलले भने। यो अवधिमा फिल्मलाई अझ उत्कृष्ट बनाउने तयारीमा समय सदुपयोग गरेका छौँ।
‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल, अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली दोस्रो पटक सहकार्य गर्दैछन्। यसअघि उनीहरूले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफलमध्ये एक मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा र पूर्व मिस नेपाल उषा खड्गीलगायत कलाकारहरूको अभिनय रहनेछ।
चलचित्रको कथा निर्देशक सरोज पौडेलको रहेको छ भने पटकथा तथा संवाद सबिन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन्।
दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्माताका रूपमा रहेका छन्। पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, नहकुल खड्का सम्पादक तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियार संगीतकार रहेका छन्।
रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते प्रदर्शनमा आउने भएको छ।

















प्रतिक्रिया