‘गौँथली’को व्यापार उकालो, भिडियो खिच्न रोक


काठमाडौं – प्रदर्शनरत चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक प्रदर्शन गर्दै बलियो व्यापारिक लय समातेको छ। प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्रले शनिबारदेखि दर्शकको उल्लेख्य साथ पाएपछि अधिकांश हलमा शो संख्या समेत बढाइएको छ।

रिलिजका बेला विश्वकप फुटबलको माहोल र लगातारको वर्षाले दर्शकको उपस्थितिमा असर पर्ने अनुमान गरिए पनि चलचित्रले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। दर्शकको चाप बढ्दै गएपछि देशभरका विभिन्न हलले ‘गौँथली’का शो थप गरेका छन्।

निर्देशक डा. कपिल रिजालका अनुसार चलचित्र हेरेर निस्किएका दर्शकको सकारात्मक ‘वर्ड अफ माउथ’का कारण पछिल्ला दिनमा दर्शक संख्या उल्लेख्य रूपमा बढेको छ।

“जति पछिका शोहरू छन्, दर्शकको चाप त्यति नै बढिरहेको छ। चलचित्र हेर्ने दर्शकले अरूलाई पनि सिफारिस गरिरहनुभएको छ, जसका कारण अपराह्न र साँझका शोहरू भरिभराउ हुन थालेका छन्,” निर्देशक रिजालले भने।

यसैबीच, चलचित्रका महत्त्वपूर्ण दृश्यहरू खिचेर फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेपछि निर्देशक रिजालले त्यसो नगर्न दर्शकसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उनले दर्शकले दिएको माया, साथ र सकारात्मक प्रतिक्रियाप्रति आभार व्यक्त गर्दै यस्ता गतिविधिले चलचित्रको व्यावसायिक, सृजनात्मक र कलात्मक पक्षमा प्रत्यक्ष असर पुग्ने बताएका छन्।

“सामाजिक सञ्जालमा फिल्मका दृश्य सार्वजनिक हुँदा अन्य दर्शकको उत्सुकता घट्छ। यसले चलचित्रको व्यावसायिक तथा कलात्मक मूल्यमा असर पार्छ। त्यसैले यस्ता गतिविधिविरुद्ध हामी कानुनी प्रक्रियामा समेत अघि बढिसकेका छौं,” उनले उल्लेख गरेका छन्।

निर्देशक रिजालले चलचित्रका दृश्य र भिडियो खिचेर सार्वजनिक नगर्न सबै दर्शकसँग विनम्र अनुरोध गरेका छन्।

‘गौँथली’ले श्रीमान्–श्रीमतीबीचको विश्वास, अन्यायविरुद्धको संघर्ष, धैर्यता, पारिवारिक सम्बन्ध र आत्मीयताको कथा प्रस्तुत गरेको छ। विशेषगरी समाजमा पीडित महिलाको आवाज उठाएको भन्दै महिला दर्शकबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्देशक रिजालको भनाइ छ।

निर्माता सुमन गिरीका अनुसार मंगलबार पनि देशभरका अधिकांश हलमा चलचित्रको अकुपेन्सी उत्साहजनक रहेको छ। बिहानका शोमा ७० देखि ८० प्रतिशतसम्म र दिउँसो तथा साँझका अधिकांश शोमा शतप्रतिशत अकुपेन्सी देखिएको उनले जानकारी दिए।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारहरूको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरिरहेका छन्।