वरिष्ठ कलाकार निर शाह निर्देशित‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, साउन २२ मा प्रदर्शन हुने


काठमाडौं – वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली चलचित्र ‘कमला मिस’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘युनिभर्सल (यू)’ प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै चलचित्र सबै उमेर समूहका दर्शकले कुनै प्रतिबन्धबिना हेर्न सक्ने भएका छन्।

निर्माण पक्षका अनुसार सेन्सर प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै चलचित्र प्रदर्शनका लागि पूर्ण रूपमा तयार भएको छ। चलचित्र आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभर प्रदर्शनमा आउनेछ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित चलचित्र ‘कमला मिस’ मनोवैज्ञानिक कथावस्तुमा आधारित छ।

चलचित्रमा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडा लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार गरेका हुन्।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन्। पुष्कर लामा (प्रेम भोम्जन) ले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्।

प्राविधिक टोलीमा शिवराम श्रेष्ठ (छायांकन), मिलन विक्रम शाह (सम्पादन), युग भुसाल (संगीत), किरण तुलाधर (पृष्ठभूमि संगीत), मुकेश शाह (साउन्ड मास्टरिङ) र रामजी लामिछाने (कोरियोग्राफी) रहेका छन्।

चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।