काठमाडौं – आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को पहिलो प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ले सार्वजनिक भएको ४८ घण्टामै डिजिटल प्लेटफर्ममा अभूतपूर्व सफलता हासिल गरेको छ। निर्माण पक्षका अनुसार गीतमा टिकटकमा ५० हजारभन्दा बढी भिडियो बनिसकेका छन् भने ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भिडियोले ६ लाखभन्दा बढी भ्युज पार गरेको छ।
लोक फ्लेभरमा तयार पारिएको यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर सुन्न सकिन्छ। भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, शुसान्त कार्की र पदम तामाङको आकर्षक नृत्य र अनस्क्रिन केमेस्ट्रीले दर्शकको ध्यान तानेको छ। विशेषगरी पारस र दिव्या बेहुला–बेहुलीको भेषमा देखिएका छन् भने सियोन श्रेष्ठको कोरियोग्राफीलाई पनि सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।
सशान कँडेल निर्देशित र माधव शर्मा लिखित चलचित्रमा पारस, दिव्या, शुसान्त र पदमसँगै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।


















प्रतिक्रिया